‘ई–लर्निङ’ प्रभावकारीमा विद्यार्थीको आकर्षण बढ्दो…

e-learningओखलढुंगा ।  ओखलढुंगाको च्यानम गाविसमा रहेको प्रबुद्ध उच्च मावि, च्यानमले इन्टरनेटबाट शुरु गरेको ‘इ–लर्निङ’ प्रविधिको शिक्षा प्रभावकारी बनेको छ । नेपाल टेलिकमको वाइम्याक्स प्रविधिबाट विद्यालयले इन्टरनेट सेवा संचालन गरी ‘इ–लर्निङ’ अभ्यास शुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको छ ।प्रबुद्ध उमावि ई–लर्निङ अभ्यास, कम्प्युटर कक्षा र प्रोजेक्टरबाट सिकाउने जिल्लाकै पहिलो विद्यालय हो । विद्यालयले ई–लर्निङसँगसँगै प्राविधिक विषय बाली विज्ञान, कम्युटर कक्षा र विज्ञान विषय प्रोजेक्टर मार्फत विद्यार्थीलाई पढाउन थालेको विद्यालयका प्रधानाध्यापक टंकलाल गिरीले जानकारी दिनुभयो ।  विद्यालयले ०७० असोजबाट इ–लर्निङ र प्रोजेक्टरबाट सिकाइ प्रकृया शुरु गरेको थियो ।

‘दुवै प्रविधीलाई अहिले माध्यमिक तह केन्द्रित गरेका छौं ‘ गिरीले भन्नुभयो । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउन दृश्यमार्फत देखाएर विद्यार्थीलाई पढाउन थालेपछि विद्यार्थीको उपस्थिति नियमित हुने र कक्षा छोड्ने समेत कक्षामा बस्न थालेको विद्यालयले जनाएको छ ।

माध्यमिक तहमै कृषि विज्ञान कक्षा समेत सञ्चालन गर्न प्रोजेक्टर अनिवार्य भएपछि विद्यालयमा यो सुविधा थपिएको हो । ‘एक वर्षदेखि हामीले प्रोजेक्टरबाट कक्षा सुरु गरेका हौं’ बालि विज्ञानका प्रमुख प्रशिक्षक सुरज खनालले भन्नुभयो– ‘सबै कक्षाका विद्यार्थीलाई प्राक्टिकल चाहिं प्रोजेक्टरमार्फत देखाएर उनीहरुलाई सोहीअनुसार गराइन्छ ।’

इ–लर्निङले कम्प्युटर कक्षा, प्रोजेक्टरमा श्रव्यदृश्य दुवै हुने भएपछि विद्यार्थी नियमित आउने गरेका छन् । ‘प्रविधिले सिकाइमा आकर्षित गर्दो रहेछ, कक्षा छाड्ने विद्यार्थी नियमित भएका छन्’ प्रअ गिरीले भन्नुभयो ।  गत वर्षदेखि नै यहाँ कम्प्युटर कक्षा पनि सञ्चालन हुँदै आएको थियो । ५ वटा कम्प्युटर राखी माध्यमिक तहका विद्यार्थीलाई पालैपालो कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । विद्यालय भौतिक पुर्वाधारमा समेत सम्पन्न भएपछि आधुनिक प्रविधिबाट सिकाउन थालिएको हो । इ–लर्निङलाई निरन्तरता दिन भने चुनौति रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा कम्प्युटर सिक्न पाएपछि अन्यत्र गएर मंहगोमा सिकाउन नपर्ने अभिभावकहरुले बताएका छन् । कम्प्युटर कक्षाले विद्यार्थी पठाउन थप सहज भएको अभिभावक अमृत बस्नेतले बताउनुभयो । उक्त विद्यालयमा माध्यमिक तहसम्म ७ सय विद्यार्थी अध्ययनरत छन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *