अब मोवाइल खर्चको जानकारी मोवाइलमै डिस्प्ले

नेपाल टेलिकमको मोबाइल सेवाकाठमाडौं । मोबाइलबाट फोन गरिसकेपछि तत्काल त्यसको जानकारी प्रयोगकर्तालाई गराउनुपर्ने व्यवस्थालाई नेपाल दूरसञ्चार प्राधिकरणले अनिवार्य गर्ने भएको छ । सेवा प्रयोग गरिसकेपछि त्यसको जानकारी पाउने प्रयोगकर्ताको अधिकार भएकोले सबै सेवाप्रदायकलाई तत्काल यो व्यवस्था लागू गर्न निर्देशन दिएको प्राधिकरणले बताएको छ । ‘एण्ड अफ कल नोटिफिकेसन’ भनिने यो सेवामार्फत प्रयोगकर्ताले आफूले फोन गरेको समय, लागेको खर्च, बाँकी रकमलगायत जानकारी पाउन सक्नेछन् ।

फोन गरिसकेपछि प्रयोगकर्ताले आफ्नो मोबाइलको डिस्प्लेमा केही समयको लागि यो हेर्न सक्नेछन् ।
सेवा प्रयोग गरिसकेपछि पनि धेरै प्रयोगकर्ता त्यसमा भएको खर्चका विषयमा अनभिज्ञ रहेकोले यो व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले बताउनुभयो । आफ्नो खर्च भएको विषयमा प्रयोगकर्ता अलमलमा हुने भएकोले सेवाप्रदायकले नै यो सुविधा दिनुपर्छ– उहाँले भन्नुभयो । प्राधिकरणको हालै बसेको बोर्ड बैठकले यस्तो व्यवस्था सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको हो । १५ दिनभित्र यस्तो व्यवस्था लागू गराउन समय दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन –उहाँले भन्नुभयो– तर प्राधिकरण यसलाई कार्यान्वयनमा ल्याउने विषयमा अडिग छ ।

अहिले निजी क्षेत्रको एनसेलले मात्र यस्तो सुविधा दिइरहेको छ । एनसेल प्रयोगकर्ताले फोन गरिसकेपछि त्यसबापत लागेको खर्च र बाँकी रहेको रकम फोन गरिसकेपछि तत्काल हेर्न सक्छन् । तर, सञ्चालनमा रहेका अन्य पाँचवटा दूरसञ्चार सेवा प्रदायकका प्रयोगकर्ता भने यो सुविधाबाट वञ्चित छन् । एनसेल बाहेकका प्रयोगकर्ताले आफ्नो रकम जानकारीका लागि अहिले छुट्टै अनुरोध गर्नुपर्छ ।
यस्तो व्यवस्थाबाट प्रयोगकर्ता तत्काल सुसुचित हुने भएकोले खर्चका बारेमा उपयुक्त तयारी गर्नसक्ने प्राधिकरणको भनाई छ । प्राधिकरणको तथ्याङ्क अनुसार, दुई करोड ६० लाखभन्दा बढी जनसङ्ख्या अहिले दुरसञ्चारको पहुँचमा छन् । त्यसमध्ये करिब दुई करोड ३२ लाखले मोबाइल सेवा प्रयोग गर्छन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *